गोरखा । स्व.खिलबहादुर रानाको स्मृतीमा आयोजना भएको निशुल्क स्वास्थ्य शिविरबाट ५०० भन्दा बढी सर्व साधारणले सेवा लिएका छन् । राष्ट्रिय युवा संघ नेपाल र सुनिता स्मृती प्रतिष्ठानको संयुत्त आयोजनामा भएको शिविरबाट ५१६ जनाले सेवा लिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल गोरखा र सुनिता स्मृति प्रतिष्ठानको संयुत्त आयोजनामा गोरखा नगरपालिका–५ को पश्लाङ चौतारामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको हो ।
शिविर मंसिर २९ र ३० गते गरी २ दिन सञ्चालनमा आएको थियो । चरक मेमोरियल हस्पिटल पोखराका बष्ठि चिकित्सकहरुको समूहले शिविरमा आएका बिरामीहरुको स्वास्थ्य परिक्षण गरेको संघका किरण ढकालले जानकारी दिए ।
ढकालका अनुसार मुटुरोग, महिला रोग, हाडजोनी तथा नशा रोग, जनरल फिजिसियन र मनोरोग बिशेषज्ञहरुको टोलीले शिविरमा आएका बिरामीहरुको स्वास्थ्य परिक्षण गराएका थिए ।
शिविरमा आएका सबैलाई निशुल्क औषधीका साथै भिडियो एक्सरे, ईसिजी, ल्याव टेष्ट गराएका थिए । आयोजकले दिएको जानकारी अनुसार २०३ जनाले भिडियो एक्सरे गराएका थिए भने २७५ जनाले ईसिजी ।
शिविरमा १५३ जना महिलाले स्त्रि रोग, १५३ जनाले अर्थोपोडिक र १७५ जनाले ल्याब सेवा लिएका थिए । स्व.राना गोरखा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष हुन । उनको ०७९ सालको भाई टिकाको दिन असामयिक निधन भएको थियो ।
तस्बिर : किरण ढकाल










