नारायणगढ । जिल्ला कारागार कार्यालय चितवनमा रहेका १११ जना कैदीबन्दी बिरामी भएका छन् । उनीहरु विभिन्न रोगबाट पीडित भएको कारागार प्रशासनले जनाएको छ ।
१११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए । “कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ”, उनले भने ।
कार्यालय प्रमुख आचार्यका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी यहाँ उपचारका लागि ल्याउने गरिएको छ । अहिले कारागारमा मधुमेहका २६, थाइराइडका ३, मुटुरोगी ४, एचआइभी सङ्क्रमित ४, छारेरोगबाट पीडित ४, मानसिक रोगी ५, हेपाटाइटिसबाट पीडित ३ तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन् ।
जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, २ ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण कैदीबन्दीलाई उपचारका लागि यहाँ पठाउने गरिएको छ । अहिले कारागारमा क्षमताभन्दा झण्डै २०० बढी कैदीबन्दी राखिएको छ ।
कारागारमा ४७५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको भए पनि ७१७ कैदीबन्दी रहेका कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।
“उपचारका लागि पर्याप्त बजेट निकासा नहुँदा औषधि खरिद गर्न समस्या हुने गरेको छ”, उनले भने । औषधि खरिद गर्न समस्या हुँदा दाताको सहयोग लिने गरिएको छ ।



