झापा । झापाको बाह्रदशी गाउँपालिका–१ बागमतामा एउटा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ । प्रहरीका अनुसार भाले हात्ती बिहीबार मृत अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार तोरीबारीमा हात्ती मृत अवस्थामा फेला परेको हो ।
डिभिजन वन कार्यालय झापाका कर्मचारीको टोलीले हात्ती मृत भेटिएकोबारे कानुनी प्रक्रियासँगै अनुसन्धान गरिरहेको जनाएको छ । जंगली हात्ती झापाका विभिन्न गाउँमा प्रवेश गरी स्थानीय बासिन्दाले लगाएको बाली खाने र अरु भौतिक क्षति पुर्याउने गर्दै आएका छन् ।
भारतबाट प्रवेश गर्ने हात्तीको आक्रमणमा परी यसअघि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा स्थानीय बासिन्दाले ज्यान गुमाएका थिए । गत सातामात्र ती ३ जिल्लाका ४ जनाले हात्तीको आक्रमणमा ज्यान गुमाउनु परेको थियो ।
हात्तीबाट बाली जोगाउन स्थानीय बासिन्दाले विद्युतीय पासो थाप्ने गरेका छन् । त्यस्तै पासोमा परी हात्तीको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।




















