विराटनगर । नेकपा एमालेको ‘मध्यपहाडी संकल्प यात्रा’ मा अवरोध गर्न खोजेको आरोपमा प्रहरीले धनकुटामा ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रदेश पहिचान संयुक्त संघर्ष समिति संखुवासभाका संयोजक वीरेन्द्र खारा राईलगायत छन् ।
यात्रामा अवरोध पुर्याउन खोजेको आरोपमा पक्राउ पर्ने अन्यमा किरात राई यायोख्खाका धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ अध्यक्ष कमलसि तिगेला, उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई र पनित कुलुङ छन् ।
धनकुटाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनका अनुसार उनीहरूलाई धनकुटा र भोजपुरको सीमामा पर्ने लेगुवामा पक्राउ गरिएको हो । यात्रामा अवरोध पुर्याएको आरोपमा प्रहरीले हालसम्म ३० जनालाई पक्राउ गरिसकेको छ ।
यसअघि उदयपुर, खोटाङ र भोजुपरमा अवरोध गर्नेहरु पक्राउ परेका थिए । एमालेले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ जारी राखेको छ । यात्राको अगुवाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । यात्रामा केन्द्रीय नेताहरुको पनि सहभागिता छ ।
एमालेको यात्रा कोशी प्रदेशमा प्रवेश गरेसँगै पहिचान पक्षधर संगठनहरुले यातायात बन्द आह्वान गरेका छन् । यसैबीच, एमालेको अभियान आज धनकुटा प्रवेश गरेको छ । यात्रामा सहभागी टोली पाख्रिबास, हिले, सिधुवा हुँदै तेह्रथुमको वसन्तपुरमा सभा आयोजना गर्ने तयारी गरिएको छ ।




















