काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान सर्वसाधारणका लागि पशुपति मन्दिरको पश्चिमढोकाअघि प्रदर्शन गरिने भएको छ ।
मङ्गलबार बिहान ९:३० बजेदेखि करिब ३ घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन मन्दिरको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई वर्षभर सुरक्षित राखिएको छ भनेर सर्वसाधारणलाई देखाउने गरिन्छ ।
अबकाे १ वर्षसम्म यी वस्तु सुरक्षितसाथ राखिने भनी भण्डारको तेस्रो तलामा राख्ने तय भएकाले मन्दिरमा आउने सबैलाई आज अन्तिम पटक दर्शन गर्न देखाउने परम्परा रहेको छ ।
बहुमूल्य नागमणि,एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई कोषका अधिकारी, प्रहरीलगायत सरोकारवाला निकायका प्रतिनिधिको निगरानी र रोहवरमा प्रत्येक महिना मन्दिरमा भण्डारी परिवर्तन हुँदा बुझाउने गरिन्छ ।




















