काठमाडौं । बर्दियामा २९.७६ तोला सुनसहित प्रहरीले २ जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बाँके जिल्ला नेपागञ्ज उपमहानगरपालिका-१९ बस्ने २९ बर्षिय मोहन वि.क. र बाँके राप्ति सोनारी गाउँपालिका-२ का सवारी धनी ३८ बर्षिय देबिन्द्र बहादुर घर्ती रहेका छन् ।
प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेपनि आइतवार मात्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । प्र.–३–०१–०२३ ८१६८ नं हुण्डाई कारमा सुनका गरगहना सहित सवार रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले बारबर्दिया नगरपालिका-९ कतर्नियामा चेक प्वाइन्टमा चेकजाँच गरेको थियो ।
चेक जाँचको क्रममा सुन जस्तो देखिने धातु ३४७.०७१० ग्राम फेला परेको प्रहरीले जनाएको छ । स्रोत नखुलेको सुन सहित आएकाे भएको सुचना पाएपछि इलाका प्रहरी कार्यालय बगनाह मोतिपुर र कतरनियाको प्रहरी टोली चेकप्वाइन्टमा खटिएको थियो ।
हाल प्रहरीले सुनका गरगहना लिएर हिँड्ने वि.क. र सवारी धनी घर्ती सहित गाडीलाई थप अनुसन्धानका लागि राजापुर भन्सार कार्यालयमा बुझाएको छ ।
‘स्रोत नखुलेको गरगहना भएको हुनाले आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाएका छौँ ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुधिरराज शाहीले भने ‘भन्सार कार्यालयसँग आवश्यक सहकार्य भईरहेको छ ।’


