लमजुङ । लमजुङमा सामूहिक भोज खाएकामध्ये १ जनाको ज्यान गएको छ भने अन्य २९ जना बिरामी परेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार बेँसीसहर नगरपालिका–४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएका थिए । त्यसपछि उनलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आज बिहान सुन्दरबजारको एचडिसीएस नमूना सामुदायिक अस्पताल पुर्याइएको थियो ।अस्पताल ल्याउइएकी परियारलाई चिकित्सकको टोलीले मृत घोषणा गरेका थिए ।
अस्पताल प्रशासनका अनुसार मृत्तक परियारका श्रीमान् देवु , १२ वर्षीय छोरी विद्यासहित २९ जना हाल उक्त अस्पतालमा उपचारत छन् । भोज खाएका सोही पालिकाको वडा नं ८ र ९ का बासिन्दा शनिबारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए । भोजमा भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए । अस्पतालमा बिरामी आउने क्रम जारी रहेको पनि अस्पताल प्रसाशनले जानकारी दिएको छ ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।




















