चितवन । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ ।
शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६-००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको ज्यान गएको हो । साेही दुर्घटनामा परी अर्का शिक्षक भवानीप्रसाद पौडेल भने घाइते भएका छन् ।
तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत हुन । बेलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आज बिहान ज्यान गएको प्रहरीले जानकारी दिएकाे हाे ।
मृतक अधिकारी माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी हुन । दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे जनाएकाे छ ।




















