गोरखा । नेकपा एमालेको ‘संकल्प यात्रा’ भोलि गोरखा प्रवेश गर्दै छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रा झुलाघाटबाट सुरु भएर चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुने छ । समृद्धिका लागि संकल्पयात्रा नाम दिइएको अभियानको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।
ओली र केन्द्रिय पदाधिकारी सहितको टोली शुक्रवार दिउँसो ३ बजे मध्यपहाडी लोकमार्ग पालुङटारका ओख्ले पुलबाट गोरखा प्रवेश गर्ने कार्यक्रम तय भएको नेकपा एमाले गोरखाले जानकारी दिएको छ ।
गोरखा प्रवेश गर्ने यात्राको टोलीलाई एमाले जिल्ला कमिटिले मध्यपहाडी राजमार्ग अन्तर्गत गोरखा र लमजुङको सीमा ओख्ले पुलमा स्वागत गर्ने कार्यक्रम छ ।
दिउँसो ४ बजे पालुङटारको ठाँटीपोखरीमा कोणसभापछि छेवेटार बजार हुदै साँझ ६ बजे बिरेनचोकमा स्वागत पछी गोरखा सदरमुकाम प्रवेश गर्ने छ ।
नेकपा एमालेका अध्यक्ष ओली सहितका सहभागीहरु गोरखा बजारमा रहेको होटल गोरखा गार्डनमा स्वागत गर्ने कार्यक्रम भएको पनि एमालेका गोरखा अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिए ।
मंसीर २३ गते शनिवार बिहान ७ः३० बजेदेखी ८ बजेसम्म अध्यक्ष ओली सरोकार वाला संग अन्तक्रिया गर्ने छन् । सदरमुकामबाट बिहान ९ बजे आरुघाट प्रस्थान गर्ने यात्राको टोलीलाई १० बजे घ्याम्पेशाल, ११ बजे आरुघाट बजारमा चियापान र जनभेटघाट पछी १२ बजे गण्डकी प्रदेशबाट बिदाई गरी बाग्मतीको धादिङको सल्यानटार प्रवेश गर्ने कार्यक्रम तय भएको पनि नेकपा एमाले गोरखाले जनाएको छ ।
मध्यपहाडी लोकमार्ग हुँदै जाने उक्त यात्रा आगामी पुष २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुने छ ।




