काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, एनसेल खरिदबिक्री प्रकरणमा समिति बनाएर अध्ययन गर्ने सरकारको भनाईलाई नाटकको संज्ञा दिएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताए । तर समिति बनाउने कुरा नाटक भएको प्रतिक्रिया दिए ।
एनसेल प्रकरणमा कयौँ राजनीतिक दलको संलग्नता आशंका गरेका उनले सत्ता गठबन्धनले, सर्वदलीय बैठक बस्ने नभइ कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने बताए । ‘एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुनसक्छ । त्यहाँ कयौँ कुरा हुनसक्छ । त्यो एउटा छानबिनको विषय हो । तर अहिले जुन खरिदबिक्री भएको छ, भएको हो की होइन ? होइन भने किन बबाल गरेको ? हो रहेछ भने सरकारले त्यसबापत प्राप्त गर्नुपर्ने कर रकम पायो की पाएन ? पाएको छैन भने त्यो गैरकानूनी हो की होइन । गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने की छल्ने मानिसलाई गएर समात्ने हो ? यो बेकारको नाटक हो’ उनले भने ।
एनसेल खरिदबिक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएको अभिव्यक्ति प्रतिक्रिया दिन समेत लायक नभएको उनको टिप्पणी छ । ‘कर छलि गरिसकेपछि कारबाही हुनुपर्छ, केको लागि यो समिति ? वृहत छानबिन शुरुवातदेखि आजसम्मको छानबिन गरौँ । तर तत्काल कारबाही हुुनपर्छ, कर छली भएको हो भने । अर्थमन्त्रीलाई थाहा छैन भन्नुभयो, यो भन्दा लाजमर्दो कुरा अरु के हुन्छ ।’ उनले भने ‘ अर्थमन्त्रीको अभिव्यक्ति प्रतिक्रिया दिन लायक पनि छैन । सरकारले गर्न खोजेको अलमल, समिति, आयोग मैले बुझेको छैन ।’


