साँकेतिक तस्बिर
हुम्ला । घरबाट बेपत्ता भएको ४ दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरमा शव फेला परेको हो ।
फडेरा गत शुक्रबारदेखि वेपत्ता भएका थिए । उनी बेपत्ता भएसंगै उनको खोजीमा आफन्त तथा स्थानिय लागेका थिए । आफन्तले उनीलाई सोमबार दिउँसोे मृतावस्थामा फेला परेका हुन् । मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको उनका आफन्तले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले घटनाको विस्तृत जानकारी आउन नसकेका कारण घटनाकोबारेमा केही भन्न नसकिने बताए । उनका अनुसार थप विवरण बुझ्न र मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ ।
मुचुल्कापछि आज बाजुरा जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शव परीक्षणका लागि लैजाने तयारी भएको पनि प्रनाउ खनालले बताए ।
फडेरा भिरबाट लडेर ज्यान गएको हुनसक्ने उनका आफन्तको भनाइ छ ।




















