ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा बोलेरो जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । गए राति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक एवं सूचना अधिकारी कमल लुंगेलीले जानकारी दिए ।
उनका अनुसार याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र १–०१–००१ ज ३४३७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा सोही गाडी चालक लिम्बूको घटनास्थलमा नै ज्यान गएको प्रहरी निरीक्षक लुंगेलीले बताए ।
ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा चालकलाई च्यापेको प्रहरीले जनाएको छ ।


