काठमाडौं । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये ८ हजार ८३९ परिवारका लागि रु २२ करोड ९ लाख ७५ हजार रकम निकासा गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म कूल ११ हजार ९९७ लाभग्राही प्रमाणित भएका छन् ।
प्रमाणित भएका बाँकी लाभग्राहीका लागि पनि रकम निकासाको प्रक्रिया अघि बढिसकेको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए ।
पछिल्लो समयमा रकम निकासालाई तीव्रता दिएको सरकारले लाभग्राही प्रमाणित गर्ने प्रक्रिया जारी रहेको र प्रमाणित भएकाका लागि तत्काल रकम निकासा गरिरहेको छ । प्रवक्ता खड्काका अनुसार बुधबारसम्म रु २ करोड ५३ लाख निकासा गरिएकोमा बिहीबार थप रकम निकासा भएको हो ।
प्राधिकरणबाट प्राप्त विवरणअनुसार बझाङका ४९० लाभग्राहीमध्ये ११२ परिवारका लागि रु २८ लाख, रुकुम पश्चिमका ८ हजार ५८५ लाभग्राहीका लागि रु २१ करोड ४६ लाख २५ हजार र बाजुराका १ हजार ४३७ लाभग्राहीमध्ये १४२ लाभग्राहीका लागि पहिलो किस्ताबापतको रु ३५ लाख ५० हजार रकम निकासा गरिएको हो ।
सल्यानमा कायम भएका १ हजार ४८५ लाभग्राहीसहित जाजरकोटका लाभग्राहीका लागि भने रकम निकासा गर्न बाँकी रहेको छ ।




















