गोरखा । रुस–युक्रेन युद्धमा परी १ जना गोरखार्लीको ज्यान गुमाएको छ । मस्कोस्थित नेपाली दूतावासका अनुसार ज्यान गुमानेमा गोरखाका सन्दीप थपलिया भएको पुष्टी भएको छ । उनी युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए ।
दूतावासले दिएको जानकारी अनुसार थपलीया असार २९ मा नै युक्रेनको बाखमुतमा मारिएका थिए । दुई देशको युद्वमा परी हालसम्म ४ जना नेपालीको ज्यान गएको पुष्टी भएता पनि यसबाहेक पनि थप नेपाली युद्धमा परेको हुन सक्ने आशंका गरिएको छ ।
रुसी सेनामा भर्ती हुने नेपालीको यकिन विवरण नराखेको नेपाल सरकारले यसबारे रुसी सरकारसँग कुराकानी भइरहेको बताएको छ । थपलिया १ वर्षअघि रुसी सेनामा भर्ती भई गत जेठमा युद्धका लागि युक्रेन पठाइएका थिए ।

त्यसको १ महिनालगत्तै उनी मारिएको खबर परिवारले पाएका थिए । रुसले थपलियाको शव भने नेपाल पठाउन नमिल्ने भन्दै असार २९ मा रुसको इभानोभोको नाभो–तालिस्टीस्थित चिहानमा समाधिस्थ गरिदिएको थियो ।
२०७८ फागुन १२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युद्ध अझै पनि जारी छ । रुस–युक्रेन युद्धपछि झन्डै १२ सय नेपालीले युक्रेन छाडेका थिए । युक्रेनविरुद्धको युद्धपछि रुसले नेपालीलाई आफ्नो सेनामा भर्ती गराइरहेको छ । उसले ६ महिनाअघि मात्रै सैन्य समूहमा न्यूनतम १ वर्ष सेवा गर्ने विदेशीलाई नागरिकता नै दिने र अन्य सेवामा भन्दा ४ गुणा बढी तलब दिने गरी कानुन जारी गरेपछि नेपाली युवाको आकर्षण बढेको छ ।
रुसी सेनामा लैजानका लागि काठमाडौंमा विभिन्न तहमा बिचौलियाहरू सक्रिय रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत अनुसन्धान थालेको छ ।


