काठमाडौं । भारतविरुद्धको तेस्रो टी–२० क्रिकेटमा अष्ट्रेलिया ५ विकेटले विजयी भएको छ । मंगलबार राति भारतको गुवाहाटीमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२२ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले अन्तिम बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले विस्फोटक ब्याटिङ गरे ।
सतकिय पारी खेलेका गेलेन १०४ रनमा अविजित रहे । त्यस्तै, ट्रविस हेडले ३५ रनको योगदान दिए । कप्तान म्याथ्यु वेडले २८ रन जोडे ।
भारतका रवि विष्नोईले २ तथा आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहले समान १-१ विकेट लिए । भारतका ऋतुराज गायकवाडले १२३ रनको शतकीय पारी खेले पनि जित दिलाउन सकेनन् ।
त्यस्तै, कप्तान सूर्यकुमार यादव र तिलक बर्माले क्रमशः ३९ र ३१ रन बनाए । अष्ट्रेलियाका जेसन बेहरनडोफ, केन रिचर्डसन र आरोन हाड्लीले समान १-१ विकेट लिएका थिए ।



