काठमाडौं । गाजामा शुक्रबारदेखि सुरु भएको ४ दिने युद्धविराम २ दिन थप गरिएको छ । सोमबार ४ दिने युद्धविराम सकिनुअघि नै दुवै पक्षले २ दिनका लागि सम्झौता लम्ब्याउने सहमति गरेका हाे ।
इजरायल र हमासबीचको युद्धविराम वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका खेल्दै आएको कतारले युद्धविराम २ दिन लम्बिएको जनाएको छ ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले सोमबार साँझ गाजा पट्टीमा थप २ दिनका लागि मानवीय युद्धविराम लम्ब्याउने सहमति भएको बताए । द्वन्द्वरत पक्षबीच ४ दिने युद्धविरामको अन्तिम दिन घोषणा गरिएको हो ।
हमासले पनि कतार र इजिप्टसँग इजरायलसँगको मानवीय युद्धविरामलाई २ दिन लम्ब्याउन सहमत भएको विज्ञप्ति जारी गरेको छ । हमासका एक अधिकारीले कतार र इजिप्टका प्रयासमा अस्थायी मानवीय युद्धविराम थप २ दिन लम्ब्याउन सम्झौता भएको बताएका थिए ।
सम्झौताका सर्तहरूमा कुनै परिवर्तन भएको छैन । यसपटक पनि सम्झौतामा विगतको युद्धविरामको जस्तै शर्त रहनेछ ।
यसैबीच, प्यालेस्टिनी कूटनीतिज्ञ रियाद अल्माल्कीले युरोपेली संघ, पश्चिम एसियाली र उत्तर अफ्रिकी देशहरूका सदस्यहरूसँगको बैठकमा गाजामा युद्धविरामलाई थप गर्न जोड दिन अनुरोध गरे ।


