गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिकाले पनि पालिकाबाटै बैदेशिक रोजगारी जान चाहानेहरुका लागि श्रम स्वीकृति दिन सुरु गरेको छ । पालिकाले रोजगार सेवाकेन्द्र मार्फत श्रम स्वीकृति दिन सुरु गरेको हो ।
गाउँपालिकाले पहिलो पटक वडा नम्बर ५ बगुवाका दिनेश परियारलाई श्रम स्वीकृति दिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । बैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका परियारलाई पालिकाको रोजगार सेवाकेन्द्र मार्फत श्रम स्वीकृति दिएको उनले बताए ।
सेवाको थालनी गरेसंगै अबदेखि बैदेशिक रोजगारमा जान चाहानेहरुले पालिकाबाट श्रम स्वीकृति प्राप्त गर्न सहज हुने पालिकाले विश्वास लिएको छ । बैदेशिक रोजगारीलाई थप मर्यादित, सुरक्षित भरपर्दो, पारदर्शी तथा सहज बनाउन र सेवाग्राहीलाई आफ्नो स्थानीय तहबाट सेवा प्रदान गर्ने उद्देश्य अनुरुप व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्यको सुरुवात भएको पालिकाले जनाएको छ ।
श्रम स्वीकृति प्राप्त गरेका परियारले स्थानीय तहबाट श्रम स्वीकृति पाउदा खुशी लागेको बताए । यसअघि श्रम स्वीकृतिका लागि काठमाण्डौँ धाउनुपर्ने बाध्यता रहँदै आएको थियो । श्रम स्वीकृतिका लागि काठमाण्डौँसम्म पुग्दा पैसा धेरै खर्च हुने र समयपनि लाग्ने गरेको भन्दै स्थानिय स्तरबाट पाउदा त्यो सबै बचत हुने उनले बताए ।
श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसा सम्बन्धी कागजात लिएर कार्यालयमा सम्पर्क गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले स्वीकृतिका लागि आवश्यक सहजीकरण गरी श्रम स्वीकृति प्रदान गर्ने छ ।




















