गोरखा । गोरखामा आजदेखि लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । यो वर्षको अभियानको नारा ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ रहेको छ ।
अभियानको सुरुवात जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी मोहनबहादुर थापा मगरले ठुलो आँगनबाट गरेका थिए । सामाजिक बिकास कार्यायको आयोजनामा भएको प्रभातफेरी जिल्ला प्रशासन कार्यालयको प्रांगणबाट सुरु भएको प्रभातफेरीले कालिमाटी बजार–शक्तिचोक–पुरानो बसपार्क–बिपी चौतारा हुदै ठुलो आँगन पुगेर समापन गरिएको थियो ।
सन् १९९१ देखि सुरु भएको लैंगिक हिंसाविरुद्ध विश्वव्यापी अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् यो वर्ष मंसिर ९ देखि २५ सम्म मनाइँदै छ । नेपालमा यो अभियान २०५४ सालदेखि देशव्यापीरुपमा सञ्चालन हुँदै आएको हो ।
सन् १९६० को नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदी बहिनी पेट्रिया, मिनर्भा र मारियाको तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्ममतापूर्वक हत्या गरेको थियो । उक्त हत्यालाई लिंगका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिँदै उनीहरूको सम्मान र सम्झनामा १६ दिने अभियान मनाउन थालिएको हो ।
दिवस बर्सेनि मनाउने गरिए पनि लैंगिक हिंसाका घटना भने कम भएका छैनन् । अभियानले चेतना वृद्धिको काम भने गरेको छ । प्रविधिको विकाससँगै लैंगिक हिंसाका घटनाका स्वरुपहरु परिवर्तन भइरहँदा सुरक्षा निकायलाई छानबिन र पीडितलाई न्याय दिलाउने काममा चुनौती थपिएको छ ।
प्रभातफेरीमा समन्वय प्रमुख थापा मगर, गोरखा नगरपालिकाकी उपप्रमुख मसली मायाँ थोकर पुनः, नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना, सामुदायिक सेवा केन्द्र गोरखा, रुम टु रिड, मानव अधिकारीकर्मीहरु तथा विभिन्न सरकारी कार्यालय तथा सरोकार वाला निकायका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।






