बन्धक छुटने खबरले खुशी भएका आफन्तहरु
काठमाडौं । इजरायल र हमासबीच युद्ध विराम भएपछि हमासले पहिलो पटक बन्धक बनाएकाहरु मघ्ये २५ जनालाई पहिलो चरणमा रिहा गरेको छ । पहिलो चरणमा १३ जना इजारयली र १२ जना थाई बन्धक रिहा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बन्धकहरूलाई हमासले रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) लाई हस्तान्तरण गरेको हो । यी बन्धकहरूलाई इजिप्ट र गाजा बीचको राफा क्रसिङमा ल्याइए छाडीएकाे थियाे । त्यसपछि इजरायली सेनाले बन्धकहरूलाई मेडिकल जाँचका लागि एयरबेसमा लगेका थिए ।
प्रारम्भिक अनुसन्धानपछि सबैलाई हेलिकप्टरबाट अस्पताल लगिएकाे र त्यहा उनीहरुले परिवारलाई भेटेका थिए । रिहा भएकाहरुको नाम भने खुलाइएको छैन । यद्यपि यी सबै महिला र बालबालिका छन् ।
बन्धकहरूलाई रिहा गरेपछि इजरायलले ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेकाे छ । उनीहरु सबैलाई वेस्ट बैंकको इजरायलको ओफर जेलमा राखिएको थियो । उनीहरुको सूची सार्वजनिक भएको छ, जस अनुसार मुक्त हुनेमा २४ महिला र १५ पुरुष रहेका छन् ।
इजरायली जेल सेवाका अनुसार उनलाई वेस्ट बैंकमा रहेको इजरायली सैन्य चौकीमा सारिएकाे र घर फर्कन अनुमति दिइएकाे छ ।
थाइल्याण्डका प्रधानमन्त्रीले ट्वीट गर्दै बन्धक बनाएका १२ थाई नागरिक रिहा भएको जानकारी दिएका छन् । थाई नागरिकको रिहाई इजरायल–हमास सम्झौता अनुसार भएको होइन ।
हमासले अक्टोबर ७ मा इजरायलमा ठूलो हमला गरेको थियो । यस हमलामा १ हजार ४०० भन्दा बढी मानिस मारिएका थिए । यससँगै हमासले २४० जनालाई बन्धक बनाएको थियो ।
ति मानिसहरू विगत ४८ दिनदेखि हमासले बन्दक बनाइराखेका छन् । तर, अहिलेसम्म ५० जना बन्धकलाई मात्रै रिहा गर्ने सम्झौता भएको छ ।




















