गोरखा । गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिका बिचको अन्तरपालिका संयुक्त बैठकले दुवै पालिकाको सहमती सहित बिकासमा सहकार्य गदै जाने सहमती भएको छ ।
गोरखा नगरपालिकाको कार्यालयमा भएको अन्तरपालिका बैठकमा बिभिन्न ९ वटा निर्णय गर्दै विकासमा सहकार्य गर्ने सहमती भएको गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरले जानकारी दिए ।
बैठकले गोरखा नगरपालिका सव स्टेशनबाट आहाले–फिनाम हुँदै जाने ३३ केभिए विद्युत प्रशारण लाइन व्यवस्थित गरी ध्याम्पेसालमा बन्नेको सब स्टेशन सिघ्र सञ्चालनमा ल्याउन पहल गर्ने निर्णय गरेको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
त्यस्तैगरी गोरखा नगरपालिका–२ को आहाले भञ्ज्याङ पहिरो नियन्त्रण गर्नुका साथै आहाले–खान्चोक भन्ज्याङ्ग बैकल्पिक बाटो स्तरोन्नती गर्ने कार्य अघि बढाउने निर्णय समेत समन्वयात्मक बैठकले गरेको छ ।
जग्गा बर्गिकरणका क्रममा गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकाको जिआईएस प्रविधि मार्फत साँध सिमाना अद्यावधिक गर्ने, सिखे्र–बाह्रविसे–निवेल सडक ट्रयाक खोल्न पनि २ पालिका बीच आवश्यक सहकार्य गर्ने सहमती भएको दुवै पालिकाका अध्यक्षले जानकारी दिए ।
सहमती अनुसार २ पालिकाको सिमानामा रहेको मसेलखोला–निवेल तटबन्ध निर्माण गर्ने, ज्यादुलखोलामा मोटरेबल पुल निर्माण गर्न आवश्यक समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले गोरखा नगरपालिका–झिंगटे–अश्राङ–बोर्लाङ–आरुघाट सडक आयोजना, गोरखा नगरपालिकाको सिम्ले पँधेरा–पुतलीबजार–सिखे्र सडक आयोजना सम्पन्न गर्न आवश्यक समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ ।
उता भिमसेन थापा गाउँपालिकाले सञ्चालन गरेको सहिद स्मृती आधारभूत अस्पतालबाट विमा सेवा शुभारम्भ गर्न गोरखा नगरपालिका स्थित छेवेटार स्वास्थ्य चौकीमा रहेको एक्स रे मेसिन अर्को व्यवस्था नभएसम्म उक्त अस्पताललाई उपलब्ध गराउने निर्णय समेत समन्वयात्मक बैठकले गरेको छ ।



