गोरखा । जिल्लाको ६ स्थानिय तहमा रहेका मध्ये ६२३ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । बन्ध्याकरणमा १६ लाख ५० हजार रुपैयाँ खर्च भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले जनाएको छ । जसमध्ये बिज्ञ केन्द्रको ८ लाख खर्च भएको छ ।
केन्द्रले भ्याली एनीमल क्लिनिक काठमाडौंको सहयोगमा जिल्लाको आरुघाट, बारपाक सुलिकोट, अजिरकोट, सिरानचोक गाउँपालिका तथा पालुङटार र गोरखा नगरपालिका (केन्द्रको कार्यालय)मा गरी कुल ६२३ वटा कुकुरलाई बन्ध्याकरण गरेको कार्यालयका सूचना अधिकारी टिकाबहादुर नेपालीले बताए ।
सूचना अधिकारी नेपालीका साता दिनसम्म चलेको बन्ध्याकरण शिविरमा २८१ वटा भाले र ३४२ वटा पोथी कुकुरलाई बन्ध्याकरण गरिएको छ । जसमध्ये आरुघाटमा १७३, बारपाक सुलिकोट ११९, अजिरकोट १०७, सिरानचोक ७८ वटा र पालुङटारमा ९७ वटा तथा गोरखा नगरपालिकाम रहेको बिज्ञ केन्द्रबाट ४९ वटा गरी कुल ६२३ वटा कुकुरलाई बन्ध्याकरण गरिएको छ ।
शिविर कार्तिक १७ गते शुक्रबारदेखी २४ गते शुक्रबारसम्म गरी कुल ८ दिन सञ्चालनमा आएको बिज्ञ केन्द्रले जानकारी दिएको छ । केन्द्रले दिएको जानकारी अनुसार बन्ध्याकरण शिविर सञ्चालन भएको पालिका मध्ये आरुघाट गाउँपालिकाले ४ लाख ५० हजार अन्य पालिकाले १–१ शिविरमा खर्च गरेको पनि सूचना अधिकारी नेपालीले जानकारी दिए ।
सोही प्रकृतीको बन्ध्याकरण कार्यक्रम गण्डकी गाउँपालिकामा सञ्चालन गर्ने लक्ष्य राखिएको भएता पनि गर्न नसकिएको उनले बताए । कुल १० लाख बजेट आएको र ८ लाख खर्च भईसकेकोले स्थानिय तहले समन्वय गरेर शिविर सञ्चालन गर्न चाहेको खण्डमा जुनसुकै स्थानिय तहमा पनि सञ्चालन गर्न सकिने सूचना अधिकारी नेपालले जानकारी दिए ।
बन्ध्याकरण गरिकामध्ये स्थानिय तहको खर्चमा ३८१ र बिज्ञ केन्द्रको खर्चमा २४२ वटा कुकुरको बन्ध्याकरण भएको बिज्ञ केन्द्रले जनाएको छ । बन्ध्याकरण शिविरले त्यस क्षेत्रमा हुनसक्ने रेविज राेग नियन्त्रणमा समेत सहयाेग पुग्ने बिज्ञ केन्द्रले अनुमान गरेकाे छ ।
तस्बिर स्रोत : सूचना अधिकारी टिकाबहादुर नेपाली





