साँकेतिक तस्बिर
काठमाडौं । मोरङको उर्लाबारीमा लक्ष्मीपूजाको दिन भएको आगलागी नियन्त्रणका क्रममा घाइते भएका थप १ जनाको उपचारको क्रममा हिजो ज्यान गएको छ । यो सहित उक्त घटनामा परी ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।
ज्यान गुमाउनेमा उर्लाबारी नगरपालिका–७ बरगाछीमा कार्तिक २६ गते आइतबार भएको आगलागीमा परी घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहाल भएको मोरङ प्रहरीका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी रन्जनकुमार दाहालले बताए । यस अधि मंगलबार उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारकै क्रममा ज्यान गएको थियो ।
मोरङ प्रहरीका अनुसार आगलागीमा परेर गम्भीर घाइते दाहालको काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा बुधबार राति ज्यान गएको हो ।
दीपक कार्कीको सुनचाँदी पसलबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणमा लिने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । २६ जनाको अहिलेपनि उपचार भइरहेको छ । तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट ३ करोड ४१ लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।


