तनहुँ । भानु नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल थानीमाई मन्दिरमा करिब २०० फूलको डोली भित्रिएका छन् । गएको कात्तिक महिनादेखि मङ्सिर ५ गतेसम्म १९७ वटा फूलको डोली भित्रिएको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले जानकारी दिए ।
मनोकाक्षा पूरा हुने आस्थाका साथ देशका विभिन्न ठाउँबाट आएका भक्तजनले कात्तिकको पहिलो मङ्गलबार ७०, दोस्रो मङ्गलबार ९१ र मङ्सिरको पहिलो मङ्गलबार ३६ वटा फूलको डोली भित्रिएको अध्यक्ष थापामगरले बताए ।
अध्यक्ष थापाले दिएका जानकारी अनुसार मङ्सिरको पहिलो मङ्गलबार मात्रै ३ हजार २४० जना भक्तजनले मन्दिरमा पूजाअर्चना गरेका थिए ।
कात्तिकको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्छ । मन्दिरमा फूलको डोली चढाउदा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।
हिन्दु परम्परा अनुसार सोमबार सत्यनारायणको पूजा गरी डोली तयार गर्ने र मंगलबार थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा छ । थानीमाई मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघमा भक्तजनको भीड लाग्छ ।
मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्की, चितवन, नवलपरासीसम्मका भक्तजनहरु आउने गर्दछ । मन्दिरमा साउन महिना, एकादशी र औँसी बाहेकका अन्य दिनमा पूजाअर्चना हुने हुने गर्दछ ।
समुद्री सतहबाट १ हजार २०० मिटरको उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार तथा लमजुङको राइनासकोट सहजै देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको सो मन्दिर पुनःनिर्माण गरिएको हो ।


