गोरखा । त्रिवेणी भगवतीमाई मन्दिरको प्रांगणमा आज साँझ देखि हरिबोधनी ठूलो एकादशी त्रिवेणी मेला लाग्ने भएको छ । शहिद लखन गाउँपालिका–३ मनकामनाको निभारे स्थित मन्दिरमा बुधबार साँझदेखी विविध साँस्कृत कार्यक्रम सहित मेलाको आयोजना गरिएको आयोजक कालिका युवा क्लब निभारेका अध्यक्ष बाबु गुरुङले बताए ।
मेलामा लोकदोहोरी गायक पृथ्वी गुरुङ, श्याम राना, निर्जला गुरुङ, सुजन गुरुङ लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने पनि अध्यक्ष गुरुङले बताए ।
मेला बुधबार साँझदेखी बिहीबार बिहानसम्म लाग्ने छ । बिहिबार विहान मन्दिरमा विशेष पुजा पछी भने समापन हुने आयोजक संस्थाले जनाएको छ । उक्त मन्दिरमा हरेक बर्षको ठूलो एकादशीको अवसर पारेर भव्य मेला लाग्ने गर्दछ ।
प्रसिद्व मनकामना देवीको ७ दिदी बहिनी मध्ये त्रिवेणी भवगती कान्छी बहिनी रहेको जनविश्वास रहदै आएको छ । त्रिवेणी भगवतीको जल अर्पण गरे पश्चात् मात्र मनकामना देवीको पूजाको पूर्णता हुने धार्मिक परम्परा पनि अहिलेसम्म कायमै छ ।



