तनहुँ । तनहुँमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ७ हजार माथी पुगेको छ । स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले दिएको जानकारी अनुसार जिल्लामा ७ हजार ९५ जना डेङ्गुका बिरामी फेला परीसकेका छन् । केही महिनाअघि फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेको छैन ।
डेङ्गुका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरुमा बिरामीको चाप ह्वात्तै बढ्को छ । जिल्लाको कुल १० स्थानिय तहमध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिका रहेको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा देखिन्छ । जहाँ ५ हजार ७९५ जना डेङ्गु सङ्क्रमित रहेका छन् ।
बाँकी ९ स्थानिय तहमा भने १ हजार ३०० डेङ्गु सङ्क्रमित छन् । १४ वडा रहेको व्यास नगरपालिकाको वडा नम्बर १ मा १ हजार ५८२ जना, २ मा १ हजार ३९२ जना, ४ मा १ हजार ३७ जना, ३ मा ६५२ जना तथा वडा नं ५ मा २७२ जना डेङ्गु सङ्क्रमित रहेका छन् ।
त्यसैगरी, व्यास–१० मा २०६ जना, ११ मा १७५, ६ मा ९६, १३ मा ९१, ९ मा ८३, ७ मा ७९, १२ मा ७४, १४ मा ३७ जना र वडा नं ८ मा १४ डेङ्गु सङ्क्रमित भएका छन् ।
डेङ्गुबाट जोगिन सुत्ने समयमा झूलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन् ।




















