जाजरकोट । चिसोका कारण निमोनिया भएर यहाँ १ महिने शिशुको ज्यान गएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका १ महिनाकी छोरी निरुताको चिसोका कारण ज्यान गएको हो ।
भेरी–२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार ३ दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा ज्यान गएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए ।
चिसोकै कारण जाजरकोटमा अहिले ५० भन्दा बढी बालबालिका बिरामी परेका छन् । चिसोका कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गइसकेको छ ।
गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी १५४ जनाको ज्यान गएको थियो भने ३४६ घाइते भएका थिए ।
भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको छ ।




















