झापा । मेची राजमार्गको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप २ जनाको उपचारको क्रममा ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारकै क्रममा ज्यान गएको हो ।
उपचारको क्रममा विर्तामोडस्थित विएण्डसी अस्पतालमा लामाको आइतबार र तामाङको सोमबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए । दुर्घटनामा आइतबार साँझ वडा नं–९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै ज्यान गएको थियो ।
धनुषाबाट कन्याम घुम्न आएको ना. ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए । जसमध्ये ३ जनाको ज्यान गएको र ३३ जनाको घाइतेको हाल विएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये अन्य २ जनाको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले छ । उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ । बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका–२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ ।


