मलङ्गवा । सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा १ जना छठ बर्तालु महिलाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिए ।
नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किंदै गर्दा पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।
महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिभएका ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव समेत घाइते हुन पुगेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
घाईते हवल्दार यादवको बायाँ खुट्टा भाँचिएका कारण उपचारका लागि लालगढ अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
उक्त सवारी साधनले सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत सो ठक्कर दिएर क्षति पुर्याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।


