काठमाडौं । चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो ।
हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाए ।
बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले १-१ विकेट लिए । ११६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो ।
जापानका लागि अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चण्डेलले ११ रन बनाइन् । जापानलाई सस्तैमा रोक्न, सङ्गिता राई, इन्दू बर्मा, सीता राना मगर, खुशी डङ्गोल र सोनी पाख्रिनले १-१ विकेट लिए ।
महिला टि-२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी भएका थिए । तान्जानिया र हङकङबीच उपाधिका लागि प्रतिश्पर्धा हुँदैछ ।



