झापा । नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा ३ दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार झिलझिले इलाका प्रहरी कार्यालयमा साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा कमल बाल सञ्जालका अध्यक्षसमेत रहेका पाइएको छ ।
उनको नक्कली फेसबुक आइडीका विषयमा प्रहरीले विस्तृत जानकारी भने दिएको छैन । पक्राउ परेका थापालाई प्रहरीकाे हिरासतमा राखेर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


