काठमाडौं । महोत्तरीमा प्रहरीले प्रहार गरेको गोली लागेर २ जना घाइते भएका छन् । घाइते हुनेमा सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेको महोत्तरी प्रहरीले पुष्टी गरेको छ ।
घाइते दुबैजनालाई खुट्टामा गोली लागेको छ । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
उनीहरु यही कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारामा भएको डकैतीमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए ।
मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा सहतकाडी सहित गाडीबाट भाग्ने क्रममा प्रहरीले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी दिलीपकुमार गिरीले बताए ।
महोत्तरीको सीमा सोनमा गाउँपालिका ५ मा गाडी बिग्रीएर अर्को गाडीमा राख्ने क्रममा दुवै जना हतकडी सहित गाडीबाट हामफालेर भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रनाउ गिरीले बताए ।
रातिको १० बजे भएको उक्त घटनामा प्रहरी ३ राउण्ड गोली प्रहार गरेर थियो । पक्राउ परेकाहरुले कात्तिक २० गते बिहान २ः३० बजेको समयमा महोत्तरीको जलेश्वर नगरपालिका–८ को सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा हतियार देखाएर ४० तोला सुुनका गहना, चाँदीको ४५ तोला गहना, आई फोन १ थान र नगद १ लाख ७५ हजार डकैती गरेको प्रहरीले जानकारी दिएको छ ।


