काठमाडौं । जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि लगिएका ४८ बिरामी निको भएर घर फर्किएका छन् ।
अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका ६ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । “सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अव भेरीमा शल्यक्रिया गरिएका ६ बिरामीमात्रै हुनुहुन्छ”, उनले भने, “उहाँहरुको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।” भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा लगिएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर घर फर्किएपछि उक्त वार्ड खाली गराइएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।
भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न लगिएका ५८ जनामध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसकेको छ । ३ जनालाई काठमाडौं ल्याईएको थियो भने १ जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
निको भएर घर फर्किनुभएका बिरामीलाई घरसम्म पुग्न विभिन्न सङ्घ संस्थाको समन्वयमा निःशुल्क यातायातको व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। यही कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो ।
उक्त भूकम्पमा परी १५४ जनाको मृत्यु भएको छ भने ३४६ घाइते भएका छन् । भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको छ ।


