काठमाडौं । कार्तिक कृष्ण औँसीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान गाईको पूजा गरेका छन् ।
यमपञ्चकको तेस्रो दिन परेको गाईतिहारे औंसीमा गाईलाई देवी लक्ष्मीको प्रतीक स्वरूप विधिविधान सहित पूजा गर्ने परम्परा चलिआएको छ । राष्ट्रपति पौडेलले शीतल निवासमा गाईको पूजा गरेपछि गाईलाई भोजन गराए ।
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ पार गर्न सहज हुने लोकविश्वास छ ।
गाईलाई आमा सरह मानेर हिन्दुहरुले पुज्ने गर्दछन् । गाई नेपालको राष्ट्रिय जनावर पनि हो ।


