काठमाडौं । जाजरकोट रामीडाँडा केन्द्र बिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिमका २ जिल्लामा प्रहरी कार्यालयमा ठूलो क्षति पुर्याएको छ । भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरी ३९ वडा प्रहरी भवनमा क्षति पुर्याएको हो ।
जाजरकोटमा २९ वटा प्रहरी कार्यालयका भवनमा आंशिक क्षति हुँदा ४ भवन भने पूर्णरुपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयको भवन, चुनेचाँदे गाउँपालिका–९ मा रहेको इलाका प्रहरी कार्यालय पञ्चलादह, भेरी नगरपालिक–३ मा रहेको जिल्ला अदालत समन्वय सुरक्षा इकाइ कार्यालय र सोही ठाउँकै अस्थायी प्रहरी चौकी पूर्णरुपमा क्षति भएको छ ।
जिल्लामा भूकम्पले आंशिक क्षति पुर्याइएका २९ प्रहरी भवनमध्ये ४ वटा कम जोखिम भएकाले सोही भवनबाट सेवा सञ्चालन भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए । अन्य जोखिम रहेका ठाउँमा त्रिपाल भित्र बसेर सेवा प्रवाह भइरहेको उनले बताए ।
त्यस्तै रुकुमपश्चिममा १० वटा प्रहरी कार्यालयमा क्षति हुँदा ५ भवन पूर्णरुपमा ध्वस्त भएको छ भने ५ वटामा आंशिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार जिल्ला प्रहरी कार्यालयको पुरानो भवन बस्न नमिल्ने गरी क्षति भएको छ ।
प्रहरीचौकी पूर्तिमकाँडा, प्रहरीचौकी सोलावाङ, प्रहरीचौकी सिम्ली र इलाका प्रहरी कार्यालय आठबिसकोटका भवन पूर्णरुपमा भूकम्पले क्षति पु¥याएको छ । सिम्लीको प्रहरीचौकी अरुको घरमा सरेर सेवा दिइरहेको छ भने आठबिसकोट इलाका प्रहरी कार्यालयले त्रिपाल भित्र बसेर सेवा दिइरहेको प्रनाउ भट्टराईले जानकारी दिए ।
बाँकी अस्थायी प्रहरीचौकी साँख, स्यालाखदी, पीपल, भुल्नेटा र इलाका प्रहरी कार्यालय चौरजहारीमा आंशिकरुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।


