विराटनगर । झापा र सुनसरीमा भएका सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । सुनसरीको दुहबीमा नगरपालिका–७ मा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा १ जनाको ज्यान गएको हो भने झापामा नेपाल प्रहरीका एसपीले चलाएको गाडीको ठक्करले १ जना युवकको ज्यान गएको हो ।
प्रहरीका अनुसार दुहबी नगरपालिका–७ मा बिहीबार राति को ३८ प ५८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा पछाडि बसेका २१ वर्षीय निराजन चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित चालक दुहबी–७ का २४ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, पूर्वपश्चिम राजमार्गको झापा, कन्काइ नगरपालिका–८ मा नेपाल प्रहरीका एसपी भीमबहादुर दाहालले चलाएको गाडीको ठक्करले कमल गाउँपालिका–६ का १८ वर्षीय अनिल मर्डीको ज्यान गएको छ । धरानस्थित संघीय प्रदेश प्रहरी कार्यालयमा कार्यरत दाहालले चलाएको मे. १ च ७८३९ नम्बरको स्कोरपियो मर्डीले चलाएको मे. १० प १६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करपछि गंभिर घाइते भएका मर्डीलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो । त्यहाँ पुर्याएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


