गोरखा । जिल्ला प्रसासन कार्यालय गोरखाले तिहारका बेला बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म मात्र देउसीभैले खेल्न पाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना जारी गर्दै नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका अबसरमा साँझ ९ बजेसम्म देउसी भैलो खेल्न पाइने जनाएको छ ।
जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो, नाँचगाँन लगायतका साँस्कृतिक क्रियाकलापहरु सञ्चालन अबेरसम्म गर्न नपाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
त्यस्तै तिहार तथा छठ पर्वका बेला पटका, अतिसबाजी जस्ता विस्फोटक पदार्थहरुको आयात, ओसारपसार, विक्रि वितरण तथा प्रयोग नगर्नु नगराउन पनि प्रसासनले जारी गरेको सूचनामा भनेको छ ।
साथै मादक पदार्थको सेवन गरी शान्ति सुरक्षा एवम् सर्वसाधरणलाई असर पर्ने गरी सार्वजनिक स्थानमा हो–हल्ला गर्ने एवम् झै–झगडा गर्ने जस्ता कार्य नगर्न तथा भिडभाड तथा हुलहुज्जत जस्ता गतिविधि गरी समाजमा अशान्ति एवम् अशोभनीय क्रियाकलाप नगर्न प्रसासनले चेतावनी दिएको छ । त्यस्ता कार्य गरेको खण्डमा कानूनी कारवाही गर्न बाध्य हुने पनि प्रशासनले जनाएको छ ।
चाडबाडका बेला बजारमा अखाद्य रंग मिलाईएका मिठाई, झिलागे रोटी जस्ता अस्वस्थ्य र गुणस्तरहीन खाद्य वस्तुहरुको बिक्री बितरण हुने गरेको भन्दै त्यस्त कार्य नगर्न पनि प्रसासनले सवैलाई आग्रह गरेको छ ।
बजारमा म्याद गुज्रेका भाईमसला, प्लास्टिक जन्य फुलमालाको प्रयोग र विक्रि वितरण पनि नगर्न प्रसासनले सूचना मार्फत सवैलाई सचेत गराएको छ ।
प्रसासनको आग्रहलाई अटेरी गरे कानुन विपरितको कार्य गरे गराएको पाइएमा कानुन बमोजिम कडाभन्दा कडा कारवाही गरिने जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।



