गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा गर्भवती महिलाहरुका लागि गाउँगाउँमा पुगेर निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न सुरु गरिएको छ । गर्भमा रहेका शिशु र आमाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य इकाईहरु मार्फत स्वास्थ्यकर्मीहरुले निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न सुरु गरीएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिए ।
गाउँपालिकाले बिभिन्न ९ वटा संस्थाहरुबाट पालिका भित्र रहेका १६० जना गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको उनले जानकारी दिए । भिडियो एक्सरेबाट आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था बुझ्न् सजिलो हुने प्रमुख भट्टले बताए ।
गाउँपालिकाले १–१ महिनाको फरकमा गर्भवस्थाको परीक्षण गर्न टोलटोलमा स्वास्थ्यकर्मी पठाउने गरिएको छ । गर्भवती महिला थप समस्या देखिएको खण्डमा पुनः गर्भ परीक्षण गर्ने व्यवस्था पनि गरिएको प्रमुख भट्टले जानकारी दिए ।
‘‘एक महिना देउराली, पन्द्रुङ, ताकुकोट, तामलाबोट र स्वाँरामा भिडियो एक्सरे सेवा कार्यक्रम सञ्चालन गर्छौ, प्रमुख भट्टले भने, ‘‘लगत्तै अर्को महिना बारपाक, सौरपानी, रन्चोकमा स्वास्थ्यकर्मी पठाउछौ र पालैपालो महिना विराएर सेवा दिन सुरु गरेका छौ ।’’
१ जना गर्भवती महिलाको कम्तीमा पनि ३ पटक अनिवार्य रुपमा भिडियो एक्सरे सेवा प्रदान गरिने अहेव राजमती श्रेष्ठले बताइन । ‘‘त्यसपछि भने आवश्यकता अनुसार भिडियो एक्सरे गरिन्छ, उनले भनि, ‘‘पहिलो चरणमा सवै वडामा पुगेर गर्भवती महिलाहरुको गर्भवस्थाको भिडियो एक्सरे जाँच गरी सकिएको छ ।’’
गर्भवती महिलाहरुको गर्भमा रहेका बच्चाको अवस्था थाहा पाउन र समयमै समस्याहरुको पहिचान गर्न सकियोस भन्ने उदेश्यले गाउँपालिकाले गर्भवती महिलाहरुका लागि टोलटोलमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क भिडियो एक्सरे जाँच गर्न थालिएकोे गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए ।
प्रोटेबल भिडियो एक्स–रे मेसिनको प्रयोग गरी स्वास्थ्यकर्मीले वडावडामा पुगेर सेवा दिदै आएको उनले बताए । गाँउपालिकाले वडावडा पुगेर ग्रामिण अल्ट्रासाउण्ड सेवा सुरु गरेसंगै पालिका भित्रका गर्भवती महिलाहरु गर्भावस्थाको परीक्षणका लागी गोरखा अस्पताल पुग्नुपर्ने बाध्यता हटेको छ ।


