काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि हालसम्म १५७ जनाको ज्यान गएको छ । सोही भूकम्पमा परी हालसम्म २५६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको ज्यान गएको छ । भूकम्पले ९३२ घरमा पूर्ण क्षति पुरर्याएको छ भने २ हजार ८३८ वटा घरमा आंशिक क्षति भएको पनि मन्त्रालयले जनाएको छ ।
जाजरकोटमा ११२ जना घाइते, ९०५ वटा घरमा पूर्ण क्षति र २ हजार ६८५ घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिममा १३२ जना घाइते, रुकुम पूर्वमा १९ वटा घरमा आंशिक क्षति भएको छ । सल्यानमा २ जना घाइते भएका छन् भने २५ वटा घरमा पूर्ण क्षति र ९७ वटा घरमा आंशिक क्षति भएको छ ।
मन्त्रालयका अनुसार रोल्पामा १ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना र जुम्लामा ३ जना घाइते भएका छन् । नवलपरासी पूर्व र दैलेख १–१ घर, दाङ ६ र प्युठानमा २९ वटा घरहरूमा आंशिक क्षति पुगेको छ । दैलेख र बैतडीमा भने १–१ घरमा पूर्ण क्षति भएको छ ।
भूकम्पले जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान गरी ११ जिल्ला प्रभावित बनेको पनि गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भूकम्प प्रभावित जिल्लामा नेपाल प्रहरी, सशत्र प्रहरी र नेपाली सेना ठुलो संख्यामा परिचालन गरिएको छ ।


