काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर गएराती गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२९ पुगेको छ । भूकम्पमा गरी जाजरकोटमा मात्रै ९२ जनाको ज्यान गएको पुष्टि भएको छ । रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार बिहान ७:३० बजेसम्ममा ९२ जनाको ज्यान गएकाे पुष्टि भैसकेको छ । थप विवरण संकलन भईरहेको भन्दै शर्माले मृतकको संख्या बढ्न सक्ने बताए ।
उनले भने ‘सूचना संकलन कार्य चलिरहेको छ । अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको छ । सबैभन्दा बढी ४७ जना नलगाड नगरपालिकाका परेका छन् ।’
यस्तै रुकुम पश्चि र जाजरकोटमा गरी १४० बढी घाइते भएका छन् । जाजरकोट जिल्ला अस्पतालमा मात्रै ५५ जनाको उपचार भईरहेको छ । ८ जनालाई सुर्खेत पठाइएको शर्माले जानकारी दिए ।
केन्द्रिय प्रहरी प्रवक्ता कुवेर कडायतले जाजरकोटमा ९२ र रुकुममा ३७ जनाको ज्यान गएको पुष्टि गरे । उनले भने ‘कतिपय ठाउँमा सुरक्षाकर्मी समेत पुग्न कठिन भएको छ । पहाडि इलाका भएकाले अहिले नै क्षतिबारे प्रष्ट भन्न सकिने अवस्था छ्रैन् ।’
सडक अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा पुग्न समेत कठिन भएको छ भने सञ्चार सम्पर्क स्थापित गर्न समेत कठिन भएको छ ।


