काठमाडौं । प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मीहरुकाे टाेली लिएर भूकम्प प्रभावित क्षेत्र गएका छन् ।
जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ बजे र ४७ मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।
खोज, उद्धार र उपचार व्यवस्थाका बारेमो जानकारी लिन प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा गएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
प्रधानमन्त्रीसंग पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् । धेरै क्षति भएको नलगाड बस्नेतको गाउँ हो ।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गरेका छन् ।
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठुलो क्षति भएको छ । जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा ठूलो क्षति भएको छ ।
उद्धारका लागि सुर्खेतबाट ३ वटा हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको छ ।


