गोरखा । यो आर्थिक बर्षको पहिलो त्रैमासिकमा मात्रै गोरखाको ७ वटा स्थानिय तहमा करिब ४०० जनामा डेंगुको स्रक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये सबैभन्दा बढी गोरखा नगरपालिकामा देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
यो आर्थिक बर्षको साउन, भाद्र र असोज महिनामा मात्रै ३६१ जनामा संक्रमण देखिएको महामारी फोकल पर्सन नवराज खड्काले जानकारी दिए । उनका अनुसार जिल्लाको गोरखा र पालुङटार नगरपालिका तथा आरुघाट, भिमसेन थापा, गण्डकी, शहिद लखन र अजिरकोट गाउँपालिकामा डेंगुको संक्रमण देखिएको छ ।
कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा बढी गोरखा नगरपालिकामा देखिएको छ । जहाँ २७९ जनामा संक्रमण देखिएको छ । त्यस्तै गरी आरुघाट गाउँपालिकामा ३८ जना, भिमसेन थापामा २७ जना, पालुङटार नगरपालिकामा २३ जना, गण्डकी गाउँपालिकामा ८ जना र शहिद लखन र अजिरकोट गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।
मौसममा परिवर्तन आएर चिसो बढेको भएता पनि डेंगुका संक्रमितहरु फेला पर्ने क्रम जारी रहेकाले बिहान र साँझ पख लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकहरुले सल्लाह दिएका छन् ।
स्क्रव टाईफसका ६० बिरामी फेला
जिल्लामा डेंगु संगै स्क्रब टाईफसका बिरामीहरु पनि फेला पर्न थालेको फोकल पर्सन खड्काले जानकारी दिए । एक प्रकारको किर्नाको टोकाइबाट हुने यो रोगबाट गोरखाको आरुघाट गाउँपालिका बढी प्रभावित भएको छ ।
कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आरुघाट गाउँपालिकामा मात्रै ५२ जना स्क्रब टाईफसका बिरामी फेला परेका छन् । यो रोगबाट पालुङटार नगरपालिमामा ५ जना र सिरानचोक गाउँपालिकामा ३ जना बिरामी भएको पनि कार्यालयका फोकल पर्सन खड्काले जानकारी दिए ।






















