गोरखा । बेनिघाट–आरुघाट सडकखण्ड अन्तरगत पर्ने गोरखाको भीमसेन थापा गाउँपालिका–७, र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुलखोलामा डाइभर्सन पुल बनेपछि त्यसक्षेत्रका बासिन्दाहरुले बर्षौदेखि भोग्दै आएको सास्ती हटेको भन्दै खुशी भएका छन् ।
बर्षातका बेला खोलामा पानीको वहाव बढेपछि ओहोरदोहोर नै बन्द हुने ज्यादुल खोलामा डाइभर्सन पुल निर्माण भएपनि निधक्क भएर आउआउ गर्न सजिलो भएको भन्दै स्थानीबासीहरु खुशी भएका हुन् ।
पुल निर्माण नहुँदा बर्खाका बेलामा सवारी साधन समेत वारपार गर्न नसक्दा यात्रुहरुले निक्कै हैरानी खेप्दै आएका थिए ।
‘‘बर्खा लागेपछि अत्याश्यक सवारी साधन समेत चलाउन कठिनाई थियो, स्थानीबासी जीवन कुमालले भने, ‘‘बर्षातमा काठमाण्डौ चितवन जान लागेको बस पानी नघट्दासम्म खोलाको किनारामा दुईतिनसम्म पानी कहिले घट्ला भनेर किनारामै पर्खनुपर्ने बाध्यता थियो, पुल बनेपछि अहिले सहज भएको छ ।’’ त्यसक्षेत्रका बासिन्दाहरुले लामो सयमदेखि ज्यादुल खोलामा पुल निर्माणको माग गर्दै आएका थिए ।
डाइभर्सन पुलले आरुघाटदेखि भीमसेन थापा गाउँपालिकाको क्यामुन्टार, पिपलटार, सिमलटार, महादेवटार लगायतका क्षेत्रका बासिन्दाहरुलाई थप सजिलो भएको उनको भनाई छ । १२ सय मेगावाटको बुढीगण्डकी जलासययुक्त आयोजनाको डुवान क्षेत्रमा पर्ने भएकाले मोटरेवल पुल निर्माणका लागि बजेट बिनियोजन हुन नसकेपछि पक्की डाइभर्सन पुल निर्माण गरिएको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
पुल बनेपछि बर्षाको समयमा समेत आरुघाट–बेनिघाट सडकखण्डमा चल्ने सवारी साधनहरु निर्वाध रुपमा सञ्चालन हुने उनले बताए । प्रदेश सरकारको बिनियोजन गरेको ३५ लाख रुपैयाँको लागतमा ज्यादुल खोलामा डाईभर्सन पुल निमार्ण सम्पन्न गरिएको ७ नम्बर वडा अध्यक्ष नारायण श्रेष्ठले बताए ।
‘‘खोलामा सातवटा ठूलाठूला हिम पाईप जडान गरी डाइभर्सन पुल निमार्ण गरिएको हो, उनले भने, ‘‘खोलामा पुल नहँदा बर्षायाममा खेतबारीमा काम गर्न ओहोरदोहोर गर्नका लागि समेत स्थानीयबासीहरुलाई कठिनाई हुदै आएको थियो अब सजिलो भएको छ ।’’
उक्त पुल हुँदै घाटेवेसीदेखि गोरखा सदरमुकाम, घाटेवेसीदेखि बेनिघाट, काठमाण्डौसम्म नियमित यात्रुबाहक बस तथा अन्य मालबाहक सवारी साधनहरु चल्ने गर्दछ । बर्षातका बेला खोला बढेपछि वारीपारी गर्न खोला घट्नै पर्ने बाध्यता भोग्दै आएका स्थानीयबासीहरु पुल निमार्ण भएपछि खुशी भएका छन् ।


