काठमाडौं । बाराको सिमरा चोकमा भएको बस दुर्घटना परी १ जनाको ज्यान गएको छ । ११ जना घाइते भएका छन् ।
चितवनबाट वीरगञ्ज जाँदै गरेको ना. ७ ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका–२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको मोतिहारी घर भई वीरगञ्ज बस्दै आएका २७ वर्षीय मुकेश साहको ज्यान गएको बारा प्रहरीले पुष्टी गरेको हो ।
उक्त दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका–२० का ४५ वर्षीय वीरबहादुर महतो, पर्साको वीरगञ्ज महानगरपालिका–८ का ३० वर्षीय सुरजसाह कानु, सोही ठाउँका १८ वर्षीय प्रिया गुप्ता, १६ वर्षीया मनिषा साह र २८ वर्षीय मोहन साह घाईते भएका छन् ।
यस्तै वीरगञ्ज महानगरपालिका–१२ बस्ने २३ वर्षीया सेजल गुरुङ, ५२ वर्षीय ललन चौरसिया, २७ वर्षीय राजनकुमार गुप्ता, बाराको कलैया–७ का १८ वर्षीय प्रसाद गुप्ता, ३५ वर्षीय अविनाश गुप्ता र बारा जितपुरसिपरा उपमहानगरपालिका–२ का १९ वर्षीय अनिष राई पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरू मध्ये वीरबहादुर र सुरज साहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मोटरसाइकललाई बचाउन खोज्दा बस दुर्घटना भएको पाइएको छ ।


