काठमाडौं । नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । सोही कारण देशभर चिसो क्रमशः बढ्दै गएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार मनाङको तापक्रम माइनस १ डिग्री मापन भएको छ । महाशाखाका अनुसार शनिबार जोमोममा माइनस २.५ डिग्री मापन गरिएको थियो ।
आइतबार बिहान काठमाडौंको तापक्रम १० देखि १२ डिग्रीबीच रहने अनुमान समेत गरिएको छ ।
चिसो बढेपनि हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाले आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
देशका पहाडी भू–भागका १–२ स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । त्यसबाहेक पनि उच्च पहाडी तथा हिमाली भू–भागको १–२ स्थानमा हल्का वर्षा सहित हिमपातको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।


