चितवन । चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको ज्यान गएकाे छ । दुर्घटनामा अन्य ३ जना सख्त घाइते भएका छन् ।
बिहीबार साँझ खैरहनी नगरपालिका-१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९६ प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख २३५४ नम्बरको बसले ठक्कर दिंदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय आनन लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेज भरथपुरमा उपचारका क्रममा ज्यान गएको हो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बिहीबार साँझ नै चितवनको रत्ननगर नगरपालिका ७ बद्रेनीस्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टदा ३ जना घाइते भएका छन् ।
बद्रेनीबाट हात्तीचोकतर्फ आउँदै गरेको बा प्र ०६-००१ प ४७९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिंदा मोटरसाइकल चालक खैरहनी नगरपालिका-१२ का २० वर्षीय समित महतो, मोटरसाइकल पछाडि सवार राप्ती नगरपालिका ६ का २१ वर्षीय विज्ञान चौधरी र सोही ठाउँका २२ वर्षीय रोशन चौधरी घाइते भएका थिए ।
सख्त घाइते ३ जनाको उपचार भरतपुरको पुरानो मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ ।




















