जनकपुरधाम । जनकपुरबाट पेस्तोलसहित १ जना भारतीय किशोरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी–९ बस्ने १६ वर्षीया पूजाकुमारी सहनी भएको पुष्टी भएको छ ।
उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ ७ः४५ बजे सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।
रेल्वे सुरक्षा बेसलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट १ थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी धनुषाले पुष्टी गरेको छ ।
उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम १ थान र चाँदीको जस्तो देखिने मालाको लकेट १ थानसमेत बरामद भएको छ ।
उनलाई नियन्त्रणमा लिई रेल्वे सुरक्षा बेस जनकपुरधाममा राखिएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


