काठमाडौं । आतंकबादी समूह हमासले २ जना इजरायली बन्धकलाई रिहा गरेको छ । रिहा भएका ७९ वर्षकी नुरित कपुर र ८५ वर्षकी योचेवेद लिफशिट्जलाई उपचारका लाति तेल अविव ल्याइएको छ ।
बीबीसीका अनुसार हमासले मानवीय र स्वास्थ्यका कारण उनीहरुलाई रिहा गरिएको बताएको छ ।
इजरायलले बन्धकहरुको रिहाइका लागि मध्यस्थता गरेको मिश्रसँगै दुबै महिलालाई ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै रेडक्रसलाई धन्यवाद दिएको छ ।
इजरायली अधिकारीहरुका अनुसार नुरित कपुरका ८५ वर्षका पति अमीरम र लिफशिट्जका ८३ वर्षका पति ओडेडलाई भने अहिले पनि हमासले बन्धक बनाएको छ ।
उक्त समूहले ७ अक्टोबरमा १ हजार ४०० भन्दा बढीको ज्यान जाने गरी इजरायलमा आक्रमण गरेको थियो । सोही समयमा हमासले दक्षिणी क्षेत्रबाट २०० भन्दा बढी मानिसलाई बन्धक बनाएर लगेका थिए ।
हमासले यो भन्दा अगाडी २ अमेरिकी नागरिकलाई रिहा गरेको थियो ।


