पाल्पा । पाल्पामा आज जिप र भ्यान दुर्घटना हुदा १३ जना घाइते भएका छन् । सोमबार बिहान र दिउँसो २ फरक स्थानमा भएको दुर्घटनामा परी १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार बिहान पाल्पाको रम्भा गाउँपालिका–४ को रानीवन नजिकै भ्यान दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।
आर्यभाङ्ज्याङ्बाट रामपुर हुँदै वीरकोट जाँदै गरेको लु. १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको थियो ।
यस्तैगरी दिउँसो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु. १ ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल खण्डको लामडाँडामा दुर्घटना भएको थियो ।
जिप दुर्घटनामा परी रुपन्देही तिलोत्तमा नगरपालिका–२ का ४५ वर्षीय रेशम गिरी, गुल्मीको रुरु गाउँपालिकाको थोर्गाका ४५ वर्षीया तोपकला ज्ञवाली, गुल्मीको इश्मा गाउँपालिका–४ का ३९ वर्षीय दानबहादुर खत्रीको अवस्था गम्भीर रहेको छ ।
घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




















