काठमाडौं । सप्तरीको हनुमाननगरस्थित कंकालिनी देवीको मन्दिरमा आज हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ । कंकालिनी देवीलाई पूर्वी नेपालकै प्रशिध्द शक्तिपीठहरुमध्ये मानिन्छ ।
आज महानवमीका दिन बिहान ११ बजेदेखि शुरु भएर ११ः४५ बजेसम्म हेलिकप्टरबाट पुष्पवृष्टि गरिएकाे हाे । पुष्प लिएर नेपाली सेनाको हेलिकोप्टर केहीबेरमा काठमाडौंबाट हनुमाननगरतर्फ उड्नकाे थियाे ।
पुष्पवृष्टिका लागि प्रधान सेनापति महासेनानी प्रभुराम शर्मा, प्रधानन्यायाधीश बिश्वम्बर प्रसाद श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई र प्रहरी महानिरीक्षक वसन्त कुँवरले सहयोग गरेका थिए ।
मधेशी नागरिक समाजका संयोजक गणेश कुमार मण्डलले यो कार्यको संयोजन गरेका हुन् । नागरिक अगुवा मण्डलले सुरक्षा निकायका तीन प्रमुख र अख्तियारका प्रमुखले गत वर्षदेखि पुष्पवृष्टि गर्नमा सहयोग गर्दैआएको जानकारी दिएका छन् । मण्डलले यसको थालनी गरेका हुन् ।
कंकालिनी देवीथानमा हरेक बर्ष महानवमीका दिन हजारौं पशु र पंक्षीहरुको बलि दिने चलन रहीआएको छ । बलि दिनुअघि यहाँ महानवमीका दिन संकल्प पूजा हुने गर्छ । संकल्प पूजाको समयमा गत वर्ष झैं यस बर्ष पनि मन्दिर परिसरमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएकाे हाे ।



