काठमाडौं । आइतबार बिहान धादिङको खरीमा केन्द्रविन्दु भइको भूकम्प हुँदा दशैं मनाईरहेका मानिसहरुवीच हल्लीखल्ली मच्चिएको छ । धादिङ वरीपरीका क्षेत्रका मानिसहरुले विगतका भूकम्प सम्झँदै अनुभव सुनाएका थिए । आज बिहानको भूकम्प भने ६.१ म्याग्निच्युडको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बिहान ७ः३९ बजेको भूकम्पको कम्पन काठमाडौं आसपासका जिल्ला र चितवनमा समेत महसुस गरिएको थियो । २०७२ वैशाख १२ गते शनिबार उत्तरी गोरखाको बाकपाक केन्द्रविन्दु भै भूकम्प भएको थियो । त्यस्तै त्यही महिनाको २९ गते दोलखा र सिन्धुपाल्चोकको सिमाना केन्द्र गरी भूकम्प जादा ठूलो जनधनको क्षति भएको थियो । त्यसपछि परकम्प गइरहे पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का कम हुँदै गएको थियो ।
यो वर्ष बझाङबाट
यो वर्ष बझाङबाट भूकम्प हुन सुरु भएको थियो । बझाङ केन्द्रविन्दु भै पटकपटक भूकम्प भईरहेको छ । भूकम्पविद् मुकुन्द भट्टराईले आज बिहानको भूकम्पबारे भने, ‘धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यो नयाँ भूकम्प होइन गोरखा भूकम्पको परकम्प हो ।’
अर्को मापन प्रणाली
भूकम्प सम्बन्धी विभिन्न स्रोतहरुका अनुसार, भूकम्पहरूलाई ‘मोमेन्ट म्याग्निट्यूड स्केल’ मा मापन गरिन्छ । यसअघि सुनिँदै आएको ‘रेक्टर स्केल’ लाई यो मापनले प्रतिस्थापित गरेको छ । पुरानो मापन प्रणालीभन्दा नयाँ थप तथ्यपरक रहेको विज्ञहरुले बताएका छन् ।
भूकम्पको धक्का फल्ट लाइनको दूरी र त्यसलाई हलचल गराउने शक्तिका आधारमा मापन गरिन्छ । विज्ञहरुले बताए अनुसार, कम्तीमा २.५ वा त्यसभन्दा तलका भूकम्पहरू मानिसलाई थाहा पनि हुँदैन र सरल उपकरणहरूले पनि पहिचान गर्न सक्दैनन् । म्याग्निट्यूड पाँचसम्मका भूकम्पहरू मानिसलाई राम्ररी थाहा हुन्छ र यसले सामान्य भौतिक क्षति पनि पुर्याउन सक्छ ।
हालै मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पलाई मध्यम देखि ठूलो धक्काको रूपमा वर्गीकरण गरिएको छ । गत फेब्रुअरीमा टर्कीमा गएको ७.८ म्याग्निट्यूडको भूकम्प भने ठूला भूकम्पहरूमध्येमा पर्छ । ८ भन्दा ठूलो भूकम्पलाई विनाशकारी भनिन्छ र यसले आफ्नो केन्द्रमा रहेका बस्तीहरू पूरै ध्वस्त बनाउन सक्छ ।
केही समय अघि नेपालको डोटी जिल्ला केन्द्रबिन्दु भएको भूकम्प त्यस क्षेत्रमा शताब्दियौँ देखि सञ्चित ऊर्जा निष्कासनका लागि पर्याप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ । केन्द्रका अनुसार, पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि भएको छैन । सन् १५०५ मा त्यस भेगमा ठूलो भूकम्प गएपछिको ५ शताब्दीभन्दा लामो समय अर्को मुख्य भूकम्प नगएको बताईएको छ ।
यस्ता थिए महाभूकम्प
५०० वर्षअघिको महाभूकम्प ८.१, ८.४ र ७.८ म्याग्निट्यूडका रहेको र त्यसको असर भारत र तिब्बतसम्म परेका विवरणहरू भूकम्प सम्बन्धी स्रोतहरुमा उल्लेख छन् ।
राजाको मृत्यु
वि.सं. १४०१ मा गएको भूकम्पलाई चाहिँ ठूलो भूकम्प भनेर गोपालराज वंशावलीमा लेखिएको छ । त्यो भूकम्प दशैँको फूलपातीका दिन भएको रहेछ । त्यसको भोलिपल्ट महाष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको ऐतिहासिक विवरणमा उल्लेख छ।
वि.सं. १२८० देखि वि.सं. १९९० सम्ममा ४८ वटा भूकम्प गएको विवरणहरू तथ्यसहित भेटिएका छन् । त्यस यता २०४५ सालमा मझौला खालको र २०७२ सालमा ठूलो भूकम्प भएका थिए ।
झन्डै ८०० वर्ष (७९५ वर्ष)को नेपालको इतिहासमा २०४५ सालको भूकम्पलाई पनि गणना गर्दा कुल ५० वटा ठूला भूकम्प भएको देखिन्छ ।


